नेप्सेमा दोहोरो अंकको गिरावट, अस्थिर बन्दै सेयर बजार

गत साता लगातार तीन दिन बढेकाे नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन सोमबार दोहोरो अंकले घटेको छ । कारोबारमा आएका १० उपसमूहमध्ये होटल र उत्पादन बाहेक अन्य आठवटै समूहमा रातो रङ्ग पोतिएपछि समग्र बजार ओरालो लाग्न पुगेको हो ।

विगत १५ दिनको नेप्सेको कारोबार हेर्ने हो भने नेप्से परिसूचक निकै अस्थिर देखिएको छ । १५ दिनमा अधिकांश दिन नेप्से परिसूचकमा दोहोरो अंकको उतारचढाव देखिएको छ ।

सात दिन दोहोरो अंकमा बढेको नेप्से परिसूचक चार दिन दोहोरो अंकले नै घटेको छ । ‘अन्य कतिपय दिन नेप्से स्थिर समेत देखिएको छ ।

यसदिन सेयर बजारमा सबैभन्दा बढी हिस्सा रहेको बाणिज्य बैंक समूह ८.२३ अंकले घटेको छ भने बीमा समूह सबैभन्दा बढी १०४.५९ अंकले ओरालो लागेको छ । सकरात्मक रहेका होटल १८.९३ अंक र उत्पादन समूह ५.३५ अंकले बढेका छन् ।

बजार बढ्छ या थप घट्छ भन्ने पक्षहरुबीच हुने मोलमोलाईले नै सेयर बजारको दिशा निर्धारण हुने गर्छ । नेप्से हालसम्मकै उच्च विन्दु १८८१ मा पुगेको समयमा सेयर किनेकाहरु अझै पनि नाफामा देखिइसकेका छैनन् । बजार बढ्छ या घट्छ भन्ने मध्ये कुनै एकमा स्पष्ट संकेत नदेखिएकोले पनि लगानीकर्ताहरु ठोस निर्णय लिन सकिरहेका छैनन् ।

अस्थिर बजारसँगै बढ्दा लगानीकर्ता झुम्मिने र घट्दा पुनः बजारबाट टाढा रहने क्रम बढेकोले पनि बजारको दिशा स्पष्ट हुन नसकेको हो । यस दिन कारोबार रकम पनि घटेको छ । १ सय ५७ कम्पनीको सेयर कारोबारबाट ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये होटल र उत्पादनमुलक समूहको परिसूचकमात्र बढेको छ । अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । २९ कम्पनीको मात्र सेयर मूल्य बढेर कारोबार भयो । १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । ४५ भन्दाबढि कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा पनि कमले सस्तिएको हो । बीमा र लघुवित्त समूहको परिसूचक सबैभन्दा धेरैले घटेको हो ।

सोमबार १३३७.६७ अंकमा खुलेको बजार सुरुमा ७ अंकले बढेर १५४४.७७ विन्दुमा पुगेको थियो । बढेको बजार २० मिनेटपछि ओरालो लाग्ने क्रम नरोकिँदा १०.९० अंकको गिरावटसँगै अन्तत १५२६.७७ अंकमा बजार बन्द भएको छ ।

यस दिन १५७ कम्पनीको १० लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड २३ लाख ९३ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकममा अघिल्लो कारोबार दिनको तुलनामा २० करोडले कमी आएको छ । गत विहीबार ७४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सोमबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी तीन करोड तीन लाख रुपैयाँको सेयर खरिदविक्री भएका छन् । यसदिन एनसीसी बैंकको सबैभन्दा बढी ८१ हजार कित्ता बढी सेयर किनबेच भएको छ ।

Leave a Reply